काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी आन्दोलनमा सहभागीहरूको ज्यान गएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी हुन् ।
विजया दशमीको दिन जेनजी आन्दोलनका सहिद परिवारसँगको भेटमा उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई सहयोग गर्नेबारे सोचेको बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने उनको प्रतिबद्धता छ ।
“दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन, जसकारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौँ । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि गएका थिए । उनले प्रधानमन्त्रीको चाहनाअनुसार दशैंको टीका नलगाएको र शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।












