काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले गत भदौ २४ गते सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका जिकिर गरेका छन् । आज बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् ।
नगर प्रहरी प्रमुख पाण्डेले भने सिंहदबारमा आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले गएको कुरा विश्वास नलागे नेपाली सेनाले सोध्न समेत भनेका छन् । देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै काठमाडौँका मेयर बालेन साहको जनस्तरमा चर्को आलोचना भइरहेको बेला काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डेले यस्तो दावी गरेका हुन् ।
बालेनले २०८० भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार जलाउने चेतावनी दिएका थिए। काठमाडौँको फोहोर सिसडोलमा लैजानेक्रममा संघ सरकारलेको सहयोग नपाएको भन्दै उनले आक्रोश पोखेका थिए। ‘आजका लागि केही भएन भोलि हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार’ उनले त्यतिबेला भनेका थिए।
जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीले सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासहित सरकारी भवन, व्यापारिक प्रतिष्ठान, निजी भवनमा तोडफोड गर्दै आगजनी गर्दा बालेनको महानगरको दमकल नपठाएको भनेर उनको तीब्र आलोचना भइरहेको छ ।














