काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैँमा टीका नलगाउने भएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष बडा दशैंको टीका जमरा नलगाउने भएकी हुन् ।
बडादसैँको पावन अवसरमा सोमबार (असोज १३) जारी शुभकामना सन्देशमा यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको छ । “यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम छैन,” सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् ।












