काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै आज उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताए ।
‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता समेत औँल्याए ।
केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो । केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।
सङ्गठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्ध सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिएका छन् ।
बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।













