काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । आज बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका छन्।
एमालेका सचिव भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । भट्टराईले मार्क्सले भनेजस्तै ‘इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुने पनि बताएका छन् ।
उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन् । भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन्।
पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग भट्टराईले सम्झेका छन् । तर कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि उनले बताएका छन्। तर पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु नहुने बताएका छन् ।












