काठमाडौं । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज आइतबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ ।
अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको हो ।
नेपाललाई परेको शोकमा आफूहरु साथमै रहेको भन्दै अमेरिकाले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ । अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको दूतावासले जनाएको छ ।














