९ फाल्गुन २०८२, शनिबार

‘…तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’


देश सफल होस् नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो ।

साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ ।
कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गर्नुभएको छ ।

। राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाउनु भएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गर्नुभएको छ । यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हाल्नु भएको हो ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशलाई सफल बनाउन आग्रह समेत गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो “ धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।”

नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिनु भएको छ ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो । शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो ।
यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो । त्यस्तै, नवनियुक्त प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !