काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार अन्तरिम प्रमुख मान्न काठमाडौं महानगरका मेयर बालेन शाह पनि तयार भएका छन् । कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने जेन–जीको प्रस्तावमा काठमाडौंका मेयर शाहले पनि समर्थन गरेका हुन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् । जेन–जीहरूको भर्चुअल बैठकले कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो ।
संवेदनशिल समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।
भर्चुअल बैठकमा सरकार प्रमुखमा बालेनको नाम पनि आएको थियो । तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउने भन्दै अन्तरिम सरकारका लागि कार्कीलाई अघि सार्नुपर्ने जेन–जीहरूको भनाइ छ ।
कार्कीको नाममा सहमति जुटाएपछि उनीहरू नेपाली सेनासँग संवादका लागि जुटेका थिए । तर सेनासँगको छलफलमा भने जेन–जी समूह एकमत भएर प्रस्तुत हुन सकिरहेको छैन ।












