काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई समर्थन जनाएका छन् । काठमाडौंका मेयर शाहले भोलि सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका हुन् ।
उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जाल मार्फत जानकारी गराएका छन् ।
उनले आफ्नो फेसबुकमार्फत यो र्याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन्।
शाहले आफू उमेर हदबन्दीका कारण र्यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ?’ भनी प्रश्न पनि गरेका छन्।
उनले यो र्यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्। उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’












