४ फाल्गुन २०८२, सोमबार

उपसभामुखलाई पदबाट हटाउने तयारीमा काँग्रेस र एमाले


इन्दिरा राना मगर

काठमाडौँ । सत्तारूढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन् ।

एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर आज मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने कांग्रेसका सांसदहरूलाई पनि ‘दिउँसो २ बजेभित्र संसदीय दल कार्यालय आउनू’ भनिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज मंगलबार बिहान ९ बजे बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल केन्द्रित भएको छ ।

सोमबार साँझपख प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित दुवै दलका शीर्ष नेताहरू बालुवाटारमा कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले उपसभामुखले आचरण अनुकूल काम नगरेको पाइएकोले हटाउनुपर्ने कुरा राखेको र त्यसमा सभापति देउवाले सहमति जनाएका थिए ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएतापनि विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन । त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपसभामुखविरूद्ध उजुरी परेको थियो।

उपसभामुख इन्दिरा राना मगर भने अहिले अमेरिका भ्रमणमा छिन्। उनी भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन्। आफूलाई पदमुक्त गर्ने गरी कांग्रेस र एमालेले छलफल गरेको थाहा पाएपछि अमेरिकाबाटै उपसभामुख राना मगरले रास्वपा नेताहरूलाई फोन गरी जानकारी गराएको स्रोतको भनाइ छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !