काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् ।
आज सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राख्न प्रस्ताव गरेका हुन् ।
मन्त्री पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा समावेश गरेर जाने सहमति गरेर जान प्रस्ताव गरेका हुन् । पन्तले आवासीय सुविधा कानुनमैभन्दा पनि त्यसलाई नियमावलीमा राख्न आग्रह गरे ।
उनले कसैलाई पनि घाँटी अठ्याउनेगरी कानुन अघि बढाउन नहुने सुझाव बैठकमा पेश गरे । सांसदहरूले पूर्ण छात्रवृत्तिमा आवासीय राख्नुपर्नेमा जोड दिएका छन् ।












