काठमाडौं । हिजोमात्रै नेपाली कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता एकदिनमै खारेज भएको छ । उनलाई हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।
फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएपछि यादवलाई कांग्रेसले आज पार्टीबाट निष्कासन गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री यादवलाई सभापति देउवाले पार्टी सदस्यता दिएका थिए ।
उनी फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको जानकारी पाएपछि उनको सदस्यता खारेज गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् । कानुनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।













