५ जेष्ठ २०८१, शनिबार

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद : पाण्डे


Surendra Pandey

२७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै, माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

केसीलाई कांग्रेसले उछालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने,“केसीलाई हामीले उचालेका छैनौँ । उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होईन । त्यो अवस्था आइसकेको छैन । कांग्रेस कमजोर छैन । जनताको हितमा भएका जायज मागको पक्ष लिएका मात्रै हौँ ।”

प्रधानमन्त्री केपी ओलीले केसीको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै पाण्डेले अधिनायकवादको संकेत देखिन थालेको जिकिर गरे । “प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, कोही एउटा व्यक्ति मर्छ भन्दैमा माग पूरा गर्न सकिँदैन । कोही व्यक्ति यति भाग्यमानी छन् कि जुम्लातिर गएर सुतेपनि ठूला–ठूला समाचार बन्छन् । यस्तो भनाई सर्वसत्तावाद नभए के त ?” पाण्डेले प्रश्न गरे ।

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद भएको उनको तर्क थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !