काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । संघीय निजामती विधेयकअन्तर्गत कुलिङ पिरिड प्रावधानमाथिको गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिका सभापति जीवन परियारले आज मंगलबार प्रतिनिसभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।
कर्मचारीले राजीनामा बुझाए वा अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुनुपर्ने प्रावधान खण्डित भएकोबारे छानबिन गर्न समिति गठन गरिएको थियो । समितिले मंगलबार बिहान सर्वसम्मतरूपमा प्रतिवेदन तयार पारेको थियो ।
राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने भएकाले सोही अनुसारको सुझाव रहेको सभापति परियारले जनाए ।
समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।












