३ फाल्गुन २०८२, आइतबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त


इन्द्रबहादुर बानियाँ

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँले दाबी हिजो पेस गरेका थिए ।

सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी गरी कुल ६४ जनाको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आज मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

यसअघि बहादुरसिंह लामाले बागमती प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका थिए ।

गत साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !