काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल भएको छ । आज बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भएको हो ।
छलफलको मुख्य एजेन्डा बागमती प्रदेश सरकारमा देखिएको विषय हो । कांग्रेसका ५ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने बुधबार मुख्यमन्त्री लामाले ३ जना मन्त्री नियुक्त गरे पनि शपथ भएको छैन । प्रदेश प्रमुख बिरामी भएर काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको अवस्था छ ।
साथै बागमती कांग्रेस संसदीय दल नेता परिवर्तन भएको छ । मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई हराएर प्रदेश सभापतिसमेत रहेका सांसद ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता बनेका छन् ।
बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।
मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले बताएको छ । बैठकमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।













