काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने स्पष्ट पारेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी हुन् । उनले कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् ।
उनले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको जिकिर गरेकी हुन् । यद्यपि एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वत: निस्क्रिय भइसकेको बताएको छ।
तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी नागरिकका रूपमा फर्केपछि पुन: मातृ पार्टी एमालेमा संलग्न हुन पुगेको बताइन्।
पत्रकारहरूले एमालेले पार्टी राजनीतिमा आउन रोक्यो, अब के गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। यसमा उनले स्पष्ट जबाफ दिइनन् । उनले पार्टी प्रणालीअनुसार चल्ने पनि बताएकी छन्।
उनले राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लगाएर भूमिका खेल्न आफूले चाहेको र सोअनुसार नै मातृ पार्टी एमालेको सदस्यता नवीकरण विधिपूर्वक गरेको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्
मलाई कुनै पदको आशक्ति छैन, राजनीति गर्न पाउनु मेरो संवैधानिक अधिकार हो : विद्या भण्डारी












