काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका हुन् ।
विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए । पोखरेलले भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताए ।
एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।
उनले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताए । केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारीको फरक भूमिका आवश्यक ठानेको उनले बताए ।
यो पनि पढ्नुहोस्
विद्याकी छोरी उषाकिरण भन्छिन्– च्यासल प्रकरणमा भएको तिकडमबाट म अचम्मित छैन












