२ फाल्गुन २०८२, शनिबार

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लग्छौं : महासचिव पोखरेल


शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।

पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउन केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको प्रष्ट्याए ।

महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताउँदै उनले थप प्रष्ट्याए ।

२०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको पोखरेलले सुनाए ।

‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो’, पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको हो ।’

विधानको दोस्रो संशोधनका रूपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको उनले स्मरण गराए ।

उनले थपे, ‘विधान महाधिवेशनमा दुई कार्यकालमात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ । हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो ।’

विधानको यसै प्रावधानलाई टेकेर पुष्प कडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन भएको उनले दोहोर्‍याए । महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीबाट २०८० बैशाख ९ गते मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउँदा ७० वर्षे कार्यकाल हटाइएको पोखरेलले बताए ।

‘७४ वर्षीय मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिन ७० वर्षे उमेर स्थगित गरेको हो’, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !