काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् । सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका पाठक आज शुक्रबार साँझ रिहा भएका हुन् ।
संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान बोलाएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका ‘श्री ५’ उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए । उनलाई दिनभर केरकार गरेर साँझ उनी रिहा भएका हुन् ।












