५ फाल्गुन २०८२, मंगलबार

भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा पूर्वमुख्यसचिव बैरागी नेतृत्वको छानबिन समिति अस्वीकार


डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई अस्वीकार गरेको छ। आज मंगलबार प्रतिनिधि सभाको बैठकमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले बोल्दै उक्त छानबिन समितिलाई अस्वीकार गरेको बताएका हुन् ।

यसअघि आजै प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए । त्यसपछि वाग्लेले गृहमन्त्री लेखक आफैंले प्रस्ताव गरेका व्यक्तिबाट छानबिन हुन नसक्ने बताए।

रास्वपाले बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने माग गरेको छ । रास्वपाले ‘उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६’ अन्तर्गत आयोग गठन हुनुपर्ने माग गरेको हो ।

रास्वपाले संसदमा गृहमन्त्री लेखकको राजीनामा माग र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध जनाउँदै आएको थियो। यस समितिमा ६ वटा मन्त्रालयका प्रतिनिधिहरू राखिएका छन्।

सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !