६ फाल्गुन २०८२, बुधबार

रास्वपा र राप्रपाको अवरोधका बाबजुत प्रतिनिधिसभा बैठक शुरु


रास्वपाद्वारा संसद्मा नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो ।

आज पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बाबजुत सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन् ।

विरोधका बीच सभामुख घिमिरेले संसद बैठक संचालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

आजै अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेसमेत कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु