२ फाल्गुन २०८२, शनिबार

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित


प्रतिपक्षद्वारा सदन अवरोध

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

संसद भवन नयाँ बानेश्वरमा आज सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।

विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् । निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगन गरेको जानकारी गराए ।

“दलहरूबीच सहमतिको प्रयत्न भइरहको र सहमतिका साथ संसद्को कार्यसूचीलाई अघि बढाउनुपर्ने महत्त्वलाई ध्यानमा राखेर शीर्ष नेताले प्रयत्न गरिरहेको भन्नुभएको छ, त्यसैले गर्दा यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ,” सभामुख घिमिरेले भने ।

विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन । रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !