काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेसंगै निलम्बित सांसदको संख्या ४ जना पुगेको छ ।
निलम्बनमा पर्ने सांसदहरुमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेपाली काँग्रेसका सांसद मोहन बहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी रहेका छन् ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले आज बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् । उनी रौतहट–१ बाट निर्वाचित सांसद हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनको सांसद पद निलम्बन गरेको हो। उक्त ऐनको दफा ३३ मा यससम्बन्धी व्यवस्था छ। दफा ३३ मा कुनै राष्ट्रसेवकविरूद्ध मुद्दा दर्ता भएमा र सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने प्रबन्ध छ। अब नेपालविरूद्धको मुद्दा किनारा नलागेसम्म उनको पद निलम्बनमा पर्नेछ।
यसअघि टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतको सांसद पद् स्वतः निलम्बनमा परेको थियो । कांग्रेसका सांसद बस्नेत १ जेठ २०८२ देखि निलम्बनमा छन् । उनीविरूद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति रवि लामिछानेको सांसद पद पनि निलम्बनमा छ । लामिछाने २०८१ साल पुस ८ गतेदेखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् । सहकारी बचत ठगी तथा अपचलन र संगठित अपराधसमेतको मुद्दामा उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीविरूद्ध सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ । त्यही मुद्दा विचाराधीन रहेकाले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको सांसद पनि निलम्बनमा छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०८० असार १ गतेदेखि निलम्बनमा परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । उनी उक्त मुद्दामा जेल चलान भएसँगै सांसद पद निलम्बनमा परेको थियो ।












