काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिन गर्न विपक्षी दलहरूले आग्रह गरेका हुन् ।
माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री लेखकलाई आग्रह गरेका हुन् ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पनि गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने बताए ।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरे ।












