काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । सर्वोच्चले आज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न चेतावनी दिएको हो ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले यस्तो चेतावनी दिएका हुन् । सर्वोच्चले न्यायिक आदेश र फैसलाहरूउपर अशोभनीय टीका–टिप्पणी नगर्न रास्वपाका कार्यकर्तालाई चेतावनी दिएको हो ।
रास्वपा सभापति लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई थुनामै राख्ने मातहत अदालतको आदेश सदर गर्दै सर्वोच्चले यस्तो चेतावनी दिएको हो । सर्वोच्चले सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधमा कारागारमा रहेका लामिछाने र जोशीलाई रिहा गर्न अस्वीकार गरेको हो ।
सर्वोच्चले आफ्नो फैसला सुनाउँदै बहसका जाहेरवालाका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरूले उच्च अदालतबाट आदेश गर्ने न्यायाधीशहरूमाथि सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।












