काठमाडौँ । भारतबाट झापा हुँदै काठमाडौँ ल्याइएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रसाईँ र उनका अंगरक्षक दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
भारतको आसामबाट पक्राउ गरेर प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंलाई झापाको भ्रदपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएर थप अनुसन्धान गर्न म्याद लिन पुगेको प्रहरीलाई जिल्ला अदालत काठमाडौँले १२ दिनको म्याद दिएको हो ।
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ ।
हिजो चैत २८ गते बिहीबार भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज चैत २९ गते शुक्रबार झापा हुँदै काठमाडौं ल्याइएको हो । यसअघि सोही प्रकरणमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवलशमसेर जबरा लगायतमाथि अदालतबाट ३ पटक म्याद थप भइसकेको छ ।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ समेत रहेका प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।












