काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दुर्गा प्रसाईं (महाअभियान संस्थापक सचिवालय) नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले एउटा पोष्ट गर्दै उक्त कुराको जानकारी दिएको हो ।
गत चैत्र १५ को राजावादी आन्दोलनमा आफ्नो ज्यान सुरक्षाका लागि भूमिगत भएका प्रसाईले आफ्नो ज्यान सुरक्षाका लागि भारतस्थित आसाम प्रहरीकहाँ पुगेर आत्मसमर्पण गरेका हुन् ।
उक्त फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’
हिजो मात्र प्रसाईले भिडियोमार्फत आफ्नो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र आफू सार्वजनिक हुने बताएका थिए । प्रसाईको नेतृत्वमा भएको चैत्र १५ गतेको तीनकुने घटनामा घुसपैठ हुनपुग्दा प्रदर्शनकारी र पत्रकार गरी दुई जनाको मृत्यु भएको थियो ।
हिजो उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरेका थिए । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका थिए ।
आफ्नो ज्यानको सुरक्षाका लागि भारतस्थित आसाम प्रहरी कहाँ पुगेर आफै पक्राउ दिएका प्रसाईलाई आजै कोसी प्रदेशको काकरभिट्टा प्रहरीलाई बुझाउने प्रवल सम्भावना रहेको स्रोतको दावी छ ।














