
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् ।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले भारत नेपालमा राजा ल्याउने पक्षमा नभएको बताएका हुन् ।
देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको खुलासा गरेका हुन् ।
देउवाले आदित्यनाथले आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिएकोमा आदित्यनाथलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । उनले नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको समेत बताए ।
आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताए । नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरूले मिलेर यसलाई मजबुत बनाउन जरूरी रहेको बताए ।
उनले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको उल्लेख गरे। । उनले चन्द्रशेखर र गणेशमान सिंहवीच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्धले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोग प्राप्त भएको बताए ।