२८ चैत्र २०८१, बिहीबार

रविलाई भैरहवा ल्याइयो, दुई दिन प्रहरीको हिरासतमै राखिने


रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट हिजो शुक्रबार राती पक्राउ परेका लामिछानेलाई आज शनिबार बिहान भैरहवा ल्याइएको हो ।

यती एयरलाइन्सको विमानमार्फत आज बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थल भैरहवामा ल्याइ पुर्याइएको हो । लामिछानेलाई प्रहरीले भैरहवा विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देही लगेको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा हिजो बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई हिजो भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।

आज शनिबार र भोलि आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ भने लामिछानेलाई सोमबार अदालत खुलेपछि लामिछानेलाई पेस गरेपछि मात्रै उनलाई कारागार पठाइने भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी हिजै राती नै पक्राउ परेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !