
काठमाडौँ । राजावादीले गठन गरेको ‘राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ ।
काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगालस्थित निवासमै प्रहरीले उनलाई नजरबन्दमा राखेको हो । प्रहरी उनको घर वरपर परिचालित गरिएको हो ।
सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी भएका थिए । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।
सोही आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपाल पनि पक्राउ परेका छन् । तर राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईं भने फरार भएका छन् ।