२० चैत्र २०८१, बुधबार

लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ । प्रशासन अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिीको १० बजेदेखि मिति भोलि बिहान ७ बजेसम्मका लागि लम्ब्याएको हो ।

व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको हो । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।

आज शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको थियो । प्रशासनल गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !