
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा गएका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै सर्वोच्च पुगेका हुन् ।
यसअघिको आफ्नो कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
२०७८ साल भदौ १ गते आफूले सर्वोच्चमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै उनी सर्वोच्चमा गएका हुन् । उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्चले फैसला गरेको थिएन ।
शाक्यले चार वर्षमा ३१ पटक सर्वोच्च धाए पनि सर्वोच्चले उनको मुद्धाको फैसला गरेन । उनको रिटमा सुनुवाइका लागि १३ पटक इजलास बसेको थियो ।