
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई अर्को मूर्खता नगर्ने आग्रह गर्दै त्यस्तो गरिएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई चेतावनी दिएका हुन् । उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।
प्रचण्डले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन् । उनले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउन अपिल गरेका हुन् । उनले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे ।
उनले नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको बताए । आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उनले राजामहाराजाहरूले अर्को दुष्साहस गरिए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।