
झापा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताएका छन् ।
झापामा आज शुक्रबार आयोजित एक कार्यक्रममा कोइरालाले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए ।
गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो कि सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने उनले बताए । राजतन्त्र फर्किनेमा आफूलाई विश्वास नरहेको जिकिर गर्दै कोइरालाले गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।
अरुले पूर्वराजा भने पनि आफूले राजा नै भन्ने उनको कथन छ । उनले भने, ‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ ।’
यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ,’ उनले भने,’हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’
सांसद कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँचवटा अध्यादेश संसदबाट स्वीकृत भए पनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गरे । कोइरालाले नेपाली कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे ।