२० चैत्र २०८१, बुधबार

कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्ने बताएकी छन् ।

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले) लाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्,“एमालेसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यहरूको विस्तारित पंक्ति, अनुभवी, संयमित र दृढ सङ्कल्प भएको नेतृत्व तह तथा समृद्धि हासिल गर्न मार्गदर्शनका रूपमा मौलिक सिद्धान्त छ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन गर्न एमाले अध्यक्ष प्रधानमन्त्री ओली रहनुभएको छ । यो पार्टीको महत्वपूर्ण योगदान दिइरहेको छ ।”

अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ गर्न खेलेको भूमिकाको उनले सराहना गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले यो पुस्तकले प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अघि बढाउने सन्र्दभमा देख्नुभएको महान सपना, गर्नुभएको अथक सङ्घर्ष र अगाल्नु भएको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

पुस्तकले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने उहाँको विश्वास थियो । “महाभूकम्पले भत्काएको संरचना पुनःनिर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखाउनुभएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा भएको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु”, उहाँले भन्नुभयो,“ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपुर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्छ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एंव लोकप्रिय राजनेता हुनुभएको छ ।”

एमाले महासचिव शङ्कर पोखरेलले अध्यक्ष एवं प्रधानमन्त्री ओली एउटा अनुशासित विद्रोहीका रूपमा समाजको दिशालाई बदल्ने सामथ्र्य राख्ने व्यक्ति भएकोे बताए । उनले भने, “अनुशासित व्रिदोहको प्रतिनिधि पात्रका रूपमा अध्यक्ष ओली हुनुहुन्छ । राजनीतिक मूल्य मान्यता र सिमामा रहेर अगाडि बढ्यो भने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषय अध्यक्ष ओलीको जीवन सङ्घर्षबाट सिक्ने पाठ हो ।”

अध्यक्ष ओली अध्ययन र ज्ञानको भण्डारको रूपमा रहेको बताउँदै महासचिव पोखरेलले उहाँ राजनीति गर्नेहरूका बीचमा पार्टीलाई डोर्याउन सामथ्र्य राख्ने हैसियत र सदैव विचारसहितको नेता रहेको बताए । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई उहाँले आत्मसात् गरेर अगाडि बढ्नुभएको छ । सङ्गठित विचार निर्माताको रूपमा पनि हामी बुझ्न सक्छौँ । धेरै जना राजनीतिमा सफल हुन्छन् तर जिम्मेवारी पूरा गर्नमा असफल भएको देखिए पनि उहाँ भने सफल रहनुभएको छ”, उनको भनाइ थियो ।

पूर्वमन्त्री निलाम्बर आचार्यले प्रधानमन्त्री ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार र योजनाकार मात्र नभइ समृद्ध नेपाल निर्माण गर्ने दृढ इच्छाशक्ति भएको राजनेताका रूपमा रहनुभएको बताए । उनले भने, “अहिलेका पुस्ताले केपी ओलीमा भएको आत्मबल, हरेस नखाने, खटिराख्ने आचरण र निरन्तर अध्ययन गरिराख्ने बानी सिक्नुपर्छ । राजनीतिमा त यो झन् आवश्यक छ ।”

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले पुस्तक अध्ययनबाट प्रधानमन्त्री ओलीको मुटु जस्तै हृदय पनि विशाल रहेछ भन्ने महसुस भएको बताए । कलाकार प्रकाश सपूतले विभिन्न बहाना देखाएर पछि हट्ने युवा पुस्ताको बानी व्यहोरालाई सच्याएर प्रगतिका लागि अघि बढ्न प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी रहेको धारणा राखे ।

त्यस अवसरमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललगायतले प्रधानमन्त्री ओलीको व्यक्तित्व र कृतिमाथि केन्द्रित रहेर धारणा राखेका थिए ।

पुस्तकका लेखक पत्रकार गणेश पाण्डेले समाजका विभिन्न क्षेत्रका व्यक्तिले प्रधानमन्त्री ओलीलाई हेर्न दृष्टिकोण तथा उनको नेतृत्वमा मुलुकले हाँसिल गरेको विकास र समृद्धिका यात्रासम्बन्धी विषय अन्तर्वार्तामा केन्द्रित रहेर तयार गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !