फाइल फोटो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् । सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए ।
उनले यस्ता विभिन्न घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा आफूहरूले उनले बताए । सांसद सापकोटाले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।
उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।












