काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगरपालिकाका मेयर आचार्य आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
मेयर आचार्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएर उपचारपछि दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।












