काठमाडौं । चर्चित राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले सामाजिक संजाल फेसबुकमा पोष्ट सेयर गर्दै वि.सं १९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो ।
निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो । पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएपछि उनी चर्चामा आएकी थिइन् ।
अर्यालका अनुसार उनी वि.सं २०२९ साल तत्कालिन जोरपाटी गा.वि.स का निर्वाचित उपप्रधानपञ्च, २०३८ साल बैशाख २० गते पञ्चायती संसदको निर्वाचनमा “घडी” चुनाव चिन्हबाट ६५,७७७ फराकिलो मतले विजयी भएकी स्वतन्त्र उम्मेदवार,गोकर्णेश्वर नगरपालिका वडा नं-६,अर्याल गाउँ निवासी थिइन् ।
सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।













