१७ फाल्गुन २०८१, शनिबार

प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : अध्यक्ष लिङ्देन


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस र नेकपा(एमाले)को संयुक्त सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको र सुशासनका पक्षमा कुनै काम गर्न नसकेको भनी आरोप लगाए ।

सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशका कारण पछिल्ला दिनमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भए पनि राज्यका निकायले थाहा नपाएजस्तो गरेको उनको भनाइ थियो ।

सहकारीपीडितले अझै न्याय पाउन नसकेको उल्लेख गर्दै उनले सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयो भन्ने प्रश्न गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !