२६ पुस २०८१, शुक्रबार

तारेखमा छाडिदिनुहोस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समयमा बोल्दै लामिछानेले पीडितको बचत फिर्ता ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।

लामिछानेले भने, ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’

उनले न्यायाधीशसमक्ष हरेकपटक तारेखमा आउँदा सहकारीपीडितको रिपोर्ट लिएर आउने बताएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपित लामिछानेलाई न्यायाधीश राईले बोल्न दिएका थिए ।

उनले भने, ‘अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ ।’

बिहीबार केही समयअघि मात्र सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । यो मुद्दाको आजै आदेश आउन सक्ने प्रवल सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !