२३ पुस २०८१, मंगलबार

नेपाली काँग्रेसकै दुई जना संसदवीच चर्काचर्की


रामहरि खतिवडा र हृदयराम थानी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसकै दुई जना संसदवीच चर्को भनाभन भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीवीच चर्काचर्की भएको हो ।

आज सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की परेको हो । समितिको बैठकमा थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि थानी झोक्किएर सभापति खतिवडाविरुद्ध आरोप लगाएका हुन् ।

सभापति खतिवडाविरुद्ध समितिकै सदस्य थानी उभिएका हुन् । समितिमा प्राप्त उजुरीहरूबारे छलफल भइरहेको छ । समितिमा सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएका थिए ।

थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए ।सांसद थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पनि संसदीय समितिमा आईसीयूमा पुगेको भनेपछि सभापति खतिवडा बोल्न थालेका थिए । सभापति खतिवडाले उक्त विधेयक आईसीयूमा नपुगेको बताए ।

अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएर पनि अघि नबढाएको विषयमा थानीले प्रश्न उठाउँदै गर्दा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न अग्रह गरेका थिए । पटक-पटकको आग्रहपछि पनि थानीले बोल्न अस्वीकार गरेपछि खतिवडाले सांसद ईश्वरी न्यौपानेलाई समय दिएका थिए ।

यस्तो छ भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !