२३ पुस २०८१, मंगलबार

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन


रास्वपा केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन् ।

यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने पनि उनले बताए । रास्वपा केन्द्रीय समितिको दुईदिने बैठक काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा जारी छ ।

दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ ।

यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !