काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जोसुकै भएपनि कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भने ।
गृहमन्त्री लेखकले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संसोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका थिए ।
प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई माग गरेका हुन् । प्रचण्डले भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु ।’
जवाफमा प्रचण्डले भने, “जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्,” उनले भने ।
आफ्नै पार्टीका सांसद भएपनि कारबाही गर्नुपर्छ भनेर आफूले भनेको उनको भनाइ छ । उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।