काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय संगठन विभाग तथा केन्द्रीय अनुशासन आयोगमा सदस्यहरु मनोनीत गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय कार्यालयमा आज शुक्रबार बसेको सचिवालय बैठकले पाँच जना सदस्यहरु मनोनित गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
यस्तै कैन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनीत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ ।
आजको बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको विवरण प्रस्तुत गरेका थिए ।
यस्तो छ हेर्नुहोस् रास्वपाले निकालेको विज्ञप्ति