काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए ।
“पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहनुभयो”, उपमहासचिव ज्ञवालीले भने, “त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।”