६ पुस २०८१, शनिबार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


दुर्गा प्रसाईं

काठमाडौं । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चले आज शुक्रबार प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।

उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सर्वोच्चले आज थुनामुक्त गर्न आदेश दिएको हो ।

साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरेको थियो ।

यसअघि साइबर क्राइमको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !