१७ पुस २०८१, बुधबार

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री देउवाको आग्रह


डा. आरजु राणा देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेका छिन्।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गरेकी हुन्।

मन्त्री डा राणाले भनिन्, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ। आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला।’

उनले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताए।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरुले आफ्ना उत्पादनहरुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो। मन्त्री डा राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिए।

मन्त्री डा राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरुका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरुलाई आग्रह गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !