११ पुस २०८१, बिहीबार

शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष प्रचण्ड


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन्।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा बुधबार वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताए। ‘आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो,’ उनले भने। उनले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण संघर्षमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रूप दिइएको स्पष्ट पारे। ‘अब त्यो निष्कर्षतर्फ जाँदै छ, हामी सबै यसमा खुसी छौँ,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको नयाँ मोडेलका रूपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ।’

संविधानसभामार्फत संविधान जारी भइसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जुन अपेक्षा गरिएको थियो, त्यो पूर्ण रूपमा हुन नसकेको असन्तुष्टि जनतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पका साथ जानुपर्ने आवश्यकता औँल्याए। त्यसका लागि संविधानलाई विकसित र परिमार्जित गर्न सकिने उनको भनाइ छ।

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अनवरत खटिने राजनीतिक दल, नागरिक समाज र आमजनताप्रति आभार प्रकट गरे। उनले जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग आग्रह पनि गरेका छन्।

०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !