३ मंसिर २०८१, सोमबार

‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्ने’


युवराज ज्ञवाली

देउखुरी, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राखे । उनले जनताको बहुदलीय जनवाद (जबज)को सार समाजको रूपान्तरण भएको उल्लेख गरे ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उनले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पारे ।

सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन-८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताएका छन् ।

उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताए । उनले भने, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।”

उनले वर्तमान सरकार विकास र समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको सन्दर्भमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !